झापा । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र ६ गते सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । उनले सोमबारको बैठकबाट विश्वासको मत लिने गरी व्यवस्था मिलाउन आग्रह गरेका छन् । विश्वासको मत पाउन १ सय ३८ सांसदको समर्थन जुटाउनुपर्छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले २६ गते विश्वासको मत लिएका थिए । त्यस बेला २ सय ६९ सांसदको विश्वास पाएका उनले सरकारबाट नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिँदै समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका हुन् ।

OM Sai Pathibhara Hospital

सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले चैत्र ६ गते सोमबार विश्वासको मत लिने तयारी गरेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएका दलहरूको समर्थन लिएर विश्वासको मत लिने दाहालको योजना छ ।