झापा- तेह्रथुमका ६ वटा पालिकाहरु मध्ये छथर गाउँपालिकामा बाल अधिकार संरक्षण परियोजना कार्यक्रमलाई सफल बनाउने अभियान सुरु भएको छ ।
बुधबार परियोजना सम्बन्धी विद्यालयका प्रधानाध्यापक,संरक्षक शिक्षक र कार्यपालिका सदस्यको बैठकमा राष्ट्रिय अभियानका सूचकहरुको बारेमा छलफल भएको हाे । गाउँपालिकामा मानव अधिकार मञ्च इलामको आयोजना देउराली सोसाईटी तेह्रथुमको स्थानीय सहजीकरण र किन्डरमिसनरेकको आर्थिक सहयोगमा परियोजना सञ्चालन भएको हो ।
सोसाईटीले गाउँपालिकामा विगत ३ वर्षदेखि बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ । गाउँपालिकाले राष्ट्रिय अभियान अन्तर्गत ३ वटा वडाहरुलाई घोषणाको तयारी गरेको र परियोजनाले भने सबै वडालाई लक्षित गरी ९ वटा माध्यमिक विद्यालयहरुमा केन्द्रित रहेको देउराली सोसाईटीका कार्यक्रम निर्देशक कपिलदेव सिंघकले बताउनुभयो ।
राष्ट्रिय अभियान अन्तर्गत पूर्ण सरसफाई, बालमैत्री स्थानीय शासन र घरमुक्त अभियान कार्यक्रम सञ्चालन भइरहेका छन । विद्यालय क्षेत्रमा आफ्नो क्षेत्रबाट बालमैत्री तथा सरसफाईमा लाग्दै आएको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक बौद्धबहादुर निरौलाले बताउनुभयो ।
बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि विद्यालयमा रहेका बाल क्लबहरुलाई क्रियाशील बनाउँदै क्षमता विकास समुदाय विद्यालय र सार्वजनिक निकायमा सहभागिताको अधिकारको व्यवस्था गरिने भएको छ । त्यस्तै पूर्ण सरसरफाईका लागि खानेपानीको अवस्थाका साथै घरभित्रको धुवाँमुक्त बनाउन अभियानको कार्यक्रमलाई तब्रता दिएको जनाएको छ । गाउँपालिकालाई बालमैत्री स्थानीय शासन कार्यक्रम बनाउने स्वास्थ्य तथा बालबालिका शाखा पूर्ण रुपमा लागेको शिक्षा शाखाका प्रमुख डण्डिकेशर खनालको भनाइ छ ।
आगामी जेठ मसान्तभित्र गाउँपालिकाको १, २ र ३ वडाहरुलाई बालमैत्री स्थानीय शासन,घरभित्रको धुवाँ मुक्त र पूर्ण सरसफाई वडा घोषणाको तयारी गरिएको छ । राष्ट्रिय अभियानसँगै स्थानीय स्तरका नागरिकहरुको चेतनाको विकास हुन भने आवश्यक छ ।