झापा - चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन झापाका तीन वटा क्याम्पसमा अन्योलमा परेको छ । विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरेपछि झापाका १३ वटा क्याम्पसमध्ये तीन वटा क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा परेको हो । विद्यार्थीहरूले काँकडभिट्टा बहुमुखी क्याम्पस, गौरादह बहुमुखी क्याम्पस र गरामनि क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा विवाद सिर्जना भएपछि स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको छ । त्रिविको निर्वाचनसम्बन्धी आचारसंहिता अनुसार आचारसंहिता लागु भएपछि विद्यार्थी भर्ना गर्न नपाइने व्यवस्था छ। तर काँकडभिट्टा क्याम्पसले आचारसंहिता विपरीत जबरजस्ती भर्ना कार्यक्रम गरेकाले विवाद उत्पन्न भएको विद्यार्थी सङ्गठनहरूले दाबी गरेका छन् ।

OM Sai Pathibhara Hospital

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले आचारसंहिता लागु भएपछि क्याम्पसले विद्यार्थी भर्ना गरेकोमा विरोध गरेपछि क्याम्पस प्रशासनले अर्को सूचना प्रकाशन नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । सर्वदलीय बैठक बोलाएर निर्वाचन गराउने सहमति भए पनि विद्यार्थी सङ्गठनहरूले ताला नखोल्दा निर्वाचनको वातावरण बन्न नसकेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाले बताए । समस्या हल गरी निर्वाचन गराउने सम्बन्धमा मङ्गलवार सर्वदलीय बैठक डाकिएको थियो ।

त्यस्तै गौरादह बहुमुखी क्याम्पसको प्रशासन कक्षमा तीन विद्यार्थी सङ्गठनहरूले ताला लगाएका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर क्याम्पस प्रशासनले फर्जी विद्यार्थीहरू भर्ना गरेको भन्दै तीन विद्यार्थी सङ्गठनहरूले क्याम्पस प्रशासनमा शुक्रबार ताला लगाएका हुन् ।

नेपाल विद्यार्थी सङ्घ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको र अन्य दुई वटा विद्यार्थी सङ्गठनले पनि तालाबन्दी खोलिदिएर पठनपाठन सुचारु गरिएको क्याम्पस प्रमुख हिन्दबहादुर दाहालले बताए । उनले तालाबन्दीका कारण अहिलेसम्म निर्वाचनका कुनै पनि कार्यक्रम सुरु नगरिएको जानकारी दिए ।

त्यस्तै गरामनि क्याम्पसमा पनि नेपाल विद्यार्थी सङ्घ र राप्रविसंघले तालाबन्दी गरेका छन् । अनेरास्ववियुका विद्यार्थीहरू स्ववियुमा निर्विरोध निर्वाचित भएपछि त्यसप्रति असहमति जनाउँदै ती दुई सङ्गठनले तालाबन्दी गरेको क्याम्पस प्रमुख नवीन रायले बताए । ताला खुलाउने विषयमा पहल भइरहेको उनले जानकारी दिए ।