इलाम-  इलामको चुलाचुली गाउँपालिकाकाे विकट गाउँ साकफारा अझै अन्धकारमा छ । छोरा र छोरीको भविष्य उज्यालो बनाउने सपना देखेका साकफाराका वासीन्दाको बिजुली बत्ती बाल्ने इच्छा अझै पूरा हुन सकेको छैन । यहाँ ३ हजार भन्दा बढी जनसंख्या रहेकाे छ ।

इलामको चुलाचुली गाउँपालिकाको पश्चिम उत्तरवर्ती विकट चुरे क्षेत्रको वडा नम्बर ६ को साकफारा गाउँ उज्यालोको पर्खाइमा छ । स्थानीयका अनुसार गाउँका केही घरमा सोलार बत्ती राखिएको छ भने केही सीमित क्षेत्रमा लघुविद्युत संंचालनमा छ । केही भने अझै पनि टुकी बत्तीकाे भरमा रात काट्न बाध्य भएका छन् ।

OM Sai Pathibhara Hospital

वडा अध्यक्ष दिल कुमार राईले वडाका केही क्षेत्रमा लघुजलविद्युत, पेल्टिसेट र सोलारबाट बिजुली बाल्ने गरिएको भएपनि केन्द्रीय प्रसारणको लाइन पूर्ण रुपमा विस्तार भइ नसकेको बताउनुभयो । भूगोलको हिसाबले साकफारा विकट र अफ्ठ्यारो भएकाले यो वडामा धेरै समस्या छन् । विद्युत नहुँदा बालबालिकाले पढ्न नपाउनुका साथै सञ्चार र विद्युतीय उपकरण प्रयोगबाट वञ्चित हुनु परेको अध्यक्ष राईले बताउनुभयो ।

यस क्षेत्रबाट पटक-पटक जितेर गएकाले पनि गाउँको विकासमा खासै पहल नगरेको अध्यक्ष राईको भनाइ छ । यो क्षेत्र इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ मा पर्दछ । जहाँबाट लामो समयदेखि पूर्वसभामुख एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरिरहनुभएको छ ।

यता चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले पालिकाको अन्य वडामा विद्युत विस्तारको काम भइसककेको भएपनि वडा नम्बर ६ मा बाँकी रहेको र त्यो पनि आफू निर्वाचित भएपछि काम अघि बढाएको बताउनुहन्छ । अबको दुई वर्षभित्रमा यस क्षेत्रमा केन्द्रीय प्रसारणको लाइन विस्तार भइसक्ने र त्यसका लागि काम अघि बढिसकेको अध्यक्ष केरुङको भनाइ छ ।

चुलाचुली गाउँपालिकाको यो वडामा पर्ने मावा तोरीबारी, कर्केनीटार, सिके, सिस्नेटार, फुङनाम, कोलबोटे, आसेटार, साकफारा सुनारे, दसमी र कालापानी लगायतका गाउँमा केन्द्रीय प्रसारणको विद्युत विस्तार हुन सकेको छैन । धेरै जसो चुरे क्षेत्रको कठिन भूगोलमा पर्ने यि गाउँहरुको वर्षायाममा ३ महिना बजारसँग सम्बन्ध विच्छेद हुन्छ ।

अधिकांश राई, नेवार, तामाङ, मगर र लिम्बु समुदायको बसोबास रहेको साेही गाउँमा ३ हजार भन्दा बढी जनसंख्या रहेकाे छ ।