काठमाण्डौ । नेपाल प्रहरीको महानिरीक्षक बन्न भर्खरै बढुवा भएका एआइजिपीहरूबीच प्रतिष्पर्धा सुरु भएको छ ।
२०५१ चैत्र ५ गते नियुक्त हालका एआइजीपीहरू वसन्त कुँवर, टेकप्रसाद राई, श्याम ज्ञवाली, किरण बज्राचार्य र दीपक थापा आइजीपी बन्ने दौडमा सामेल भएका हुन् । चैत्र १० गते आइजिपी धीरजप्रताप सिंह तीसवर्षे सेवा अवधि पूरा गरेर सेवा निवृत्त हुँदैछन् ।
सोही दिन नयाँ महानिरीक्षकको चयन हुनेछ । रोलक्रमको एक नम्बरमा परेको र कहिल्यै कुनै विवादमा नपरेर ब्यावसायिक प्रहरी अधिकारीको छवि बनाउन सकेका कारण वसन्तबहादुर कुँवर नै आइजिपी बन्ने निश्चित मानिएको छ ।
कुँवरलाई आइजिपी बनाउने पक्षमा शेरबहादुर देउवा स्वयम् भएकोले पनि उनको सम्भावना ज्यादा रहेको ठानिएको हो ।
अर्का एआइजिपी टेकप्रसाद राई अरूहरूबीचको टक्करले आफूलाई मौका मिल्ने आशामा रहेको बताइन्छ भने किरण बज्राचार्य व्यवसायमा अब्बल र महिला भएकैले सहानुभूतिपूर्वक आफ्नो चयन हुने विश्वासमा रहेको बुझिन्छ ।
प्रहरी सङ्गठनभित्र व्यावसायिक अधिकृतका रूपमा चिनिने र कहिल्यै कुनै विवादमा नपरेका श्याम ज्ञवाली पनि आइजिपीका दावेदार रहेका छन् ।
राजनीतिक पहुँच शून्यबराबर रहेका ज्ञवालीलाई आइजिपी बनाउन को लागिपर्ने हुन् स्पष्ट हुन सकेको छैन । तर उनलाई प्रहरीभित्र आइजिपीका निम्ति उपयुक्त अधिकृतका रूपमा लिने गरेको पाइएको छ ।
चार एआइजिपीहरू भन्दा ६ महिनापछि सेवा प्रवेश गरेका दीपक थापा सबैतिर सन्तुलन मिलाउन सक्षम अधिकृतका रूपमा चिनिन्छन् ।
अलिक कनिष्ठ भएको र पछि पनि आइजिपी बन्न मौका प्राप्त हुने भएकोले दीपक थापा यसपटक अग्रपङ्क्तिमा रहेर प्रतिष्पर्धा गरिरहेका छैनन् । यस आधारमा हेर्दा वसन्त कुँवर र श्याम ज्ञवाली नै आइजिपीका मुख्य प्रतिष्पर्धी रहेको ठहर गर्न सकिन्छ ।