झापा- बँदेलको शिकार गर्न थापिएको पासोमा परेर गुल्मीको छत्रकोटमा एउटा चितुवा मरेको छ । गुल्मीको छत्रकोट गाउँपालिका–२ अन्तर्गत मनबागमा आइतबार भाले चितुवा मृत अवस्थामा फेला परेको हो । चार मिटर भन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । चितुवा फेला परेको जानकारी दिएपछि डिभिजन वन कार्यालय तम्घासबाट सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

मृत अवस्थामा भेटिएको चितुवालाई स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा मुचुल्का गरी डिभिजन वन कार्यालयमा ल्याइ कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ । गत वर्ष छत्रकोट गाउँपालिकाको लुम्छामा पनि यसै गरी पासो बाँधिएकै अवस्थामा चितुवा मृत फेला परेको थियो ।

OM Sai Pathibhara Hospital

केही महिना अघि गुल्मीदरबार गाउँपालिकामा घाइते अवस्थामा फेला परेको चितुवालाई उद्धार गरी रेसुङ्गा संरक्षित वन क्षेत्रमा लगेर छाडिदिएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त डिभिजन वन अधिकृत रामकुमार चौधरीले जानकारी दिए ।