झापा बर्दीको दुरुपयोग गरेको आरोपमा सशस्त्र प्रहरीले एकजना जवानलाई निलम्बन गरेको छ । जवान सन्दीपकुमार साहलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता(डीएसपी) शैलन्द्र थापाले बताए । उनले सशस्त्र प्रहरी निरीक्षकको दज्र्यानी चिन्हसहितको बर्दीमा इलाका प्रहरी कार्यालय आरुघाटमा गएर ‘म गोरखा गुल्मको इन्सपेक्टर हुँ’ भनेका थिए । गोरखाको इलाका प्रहरी कार्यालय आरुघाटमा परेको निवेदन बारेको छलफलाई उनले प्रभावित पार्न खोजेको आरोप छ ।
जवान शाह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा कार्यरत छन् । १० दिनको घरबिदा लिएर उनि गोरखा गएका हुन् । आरुघाट गाउँपालिका–३ थुमी बस्ने १५ वर्षीया सुस्मिता बराम फागुन १५ देखि १९ गतेसम्म गोरखा सदरमुकाममा आयोजित रनिङ शिल्डमा भाग लिन गएकी थिइन् । सो कार्यक्रम पश्चात घर नआएकी उनलाई सोही वडाको श्याम्राङ बस्ने हिराबहादुर बरामले फकाएर लगेको निवेदन प्रहरीमा परेको थियो ।
सुस्मिता बरामका बुवाले छोरीलाई ललाई फकाई लैजाने हिराबहादुर बराम उपर कारवाहीको माग राखेर निवेदन दिएका थिए । प्रहरीले दुवै पक्षलाई छलफलका लागि इप्रकामा बोलाएको थियो । सशस्त्र प्रहरी जवान साहले ‘सुस्मिता बरामको बुवा मेरो ससुरा र हराएकी सुस्मिता बराम मेरो साली हो’ भनेर इलाका प्रहरी कार्यालयमा पुगेका थिए ।