काठमाडौँ । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । मुलुकमा गणतन्त्र स्थापनापछि चौथो कार्यकालका लागि बिहीबार तेस्रो राष्ट्रपति चयन हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित संसद्‌भवनको लोत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए। संघीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ ।

OM Sai Pathibhara Hospital

मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान कार्य सम्पन्न हुनासाथ मतगणना कार्य सुरू हुने र आजै साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी अघि बढाइएको सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन् ।

निर्वाचनलाई स्वाच्छ, स्वतन्त्र र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन अधिकृत पौडेलले बताए । राष्ट्रपति निर्वाचनमा संघीय सांसद ३३२ र प्रदेशसभा सदस्य ५५० जना मतदान छन् । निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रपति पदनको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वपरष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् भने नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।