झापा:  कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आगामी निर्वाचनमा कुन नाम चाहिने त्यो खालको मान्छेलाई जिताएर पठाउन आग्रह गरेका छन्। मन्त्री राजभण्डारीले आज (बुधबार)  ११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै  मन्त्री राजभण्डारीले नामकरणको विषयमा  चित्त दुखाइ भए माफ गर्दै अब आउने निर्वाचनमा कस्तो खालको नाम चाहिएको हो  त्यो खालको मान्छेलाई जिताएर पठाउन आग्रह गर्दै फेरि नाम फेर्न सकिने बताएका हुन्।

‘कोशी नाम पाइरहँदा सबैको चित्त नबुझ्न सक्छ, सबैको भावना  र चित्त दु:खाइ रह्यो होला, एकनम्बर प्रदेशबाट कोशी प्रदेश बनेको छ,’ उनले भने ‘नामकरणबाट चित्त दु:खाइ छ भने तपाईंले माफ गर्नुस्, अब आउने निर्वाचनमा कुन नाम चाहिने त्यो खालको मान्छेलाई जिताएर पठाउनुस् फेरि पनि नाम फेर्न सकिन्छ।’

OM Sai Pathibhara Hospital

अहिलेलाई पाँच वर्षको लागि  कोशी प्रदेश अगाडि सारिएको बताउँदै उनले कोशी प्रदेश स्विकारेर जान विकल्प नरहेको बताए। परिवर्तन गर्न दुईतिहाइ आवश्यक पर्ने  बताउँदै उनले कोशी प्रदेशको निम्ति मिहिनेत गर्ने मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व जनाउने सम्पूर्ण दलका नेता साथै कर्मचारीहरुलाई धन्यवादसमेत दिए।

यस्तै, नारी दिवसको प्रसंगमा महिलाहरुले आफ्नो अधिकारको सुनिश्चिता आफैँले गर्नुपर्नेमा जोड दिए।  कानुन संशोधन गरेर स्थानीय तहसँगै संघीय संसद् र प्रदेश संसदमा आफ्नो अधिकार सुनिश्चित गर्नसके मात्रै महिलाहरुको ३३ प्रतिशत अधिकार सुनिश्चित उनको भनाइ छ।

यस्तै, कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले नारी  दिवस मनाइरहँदा  प्रविधिमैत्री कार्यक्रमहरु तल्लो तहको महिलाहरुको पहँचमा पुर्‍याउन जरुरी रहेको बताइन्। ‘नारी दिवस मनाइरहँदा अहिले पनि तल्लो तहको महिलाहरुको पहुँचमा प्रविधिको ज्ञान पुग्न सकेको छैन,’ उनले भनिन्, ‘यस्तो खाल्को कर्यक्रम तल्लो तहको महिलाहरुको पहुँचमा पुर्‍याउन जरुरी छ।’

‘लैङ्गिक समानाताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ को  नारासहित कोशी प्रदेश  सामाजिक विकास मन्त्रालयको आयोजनामा आज (बुधबार) विविध कार्यक्रमको आयोजना गरी मनाइएको  छ। सामाजिक विकास मन्त्रालयअन्तर्गत  ११३ औँ  अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिको आयोजनामा बिहान प्रभातफेरीसँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको थियो।