झापा - चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका क्षेत्रमा नेपाली र चिनियाँ सुरक्षाकर्मीहरूले शनिबार सीमा स्तम्भको अनगुमन गरेका छन्।

चिनियाँ पक्षबाट कोरला नाकामा खटिएका चाइना आम पुलिस फोर्सका सुरक्षाकर्मी र नेपाल पक्षबाट मुस्ताङको लोमान्थाङ-२ नेचुङ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) टोलीले कोरला क्षेत्रमा विभिन्न सीमा स्तम्भको अनुगमन गरेका हुन्।

OM Sai Pathibhara Hospital

नेपाल पक्षबाट लोमान्थाङस्थित नेचुङमा रहेको बीओपी टोलीले बर्खायाममा महिनैपिच्छे सीमा स्तम्भको अनुगमन तथा गस्ती गर्ने गर्छ।

हिउँदयामको मौसममा अत्यधिक चिसो र हिमपात हुने भएकाले त्यहाँ रहने बीओपी टोलीलाई सीमा स्तम्भको गस्ती र अनुगमन गर्न कठिनाइ हुने गर्छ।

हिउँदयाम सकिएर गर्मी सुरु भए लगत्तै उत्तरी कोरला नाका क्षेत्रमा आपसी समन्वयमा सीमा स्तम्भ अनगुमन तथा गस्तीलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल ३३ नं. गुल्मले जनाएको छ।

बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक गोपाल बिष्टको कमाण्ड र चीन पक्षबाट चाइना आम पुलिस फोर्सका इन्स्पेक्टर माओ चुहानको कमाण्डमा अनुगमन गरिएको हो।

सशस्त्र प्रहरीको बीओपीबाट ९ जना र चाइना आम पुलिस फोर्सको तर्फबाट १२ जना संयुक्त सुरक्षाकर्मीले कोरला क्षेत्रको सीमा अनुगमन गरेको सशस्त्र प्रहरीले बताएको छ।

चिनियाँ र नेपाली सुरक्षाकर्मीहरूले कोरला क्षेत्रमा आ-आफ्नो भूमिबाट संयुक्त सुरक्षा गरेका हुन्। मुस्ताङको उत्तरी कोरला नाका क्षेत्रमा १६ वटा सीमा स्तम्भ छन्। जसमध्ये कोरलादेखि डोल्पातर्फ १८ देखि २३ नं. सीमा स्तम्भ पर्छन।

कोरलादेखि मनाङतर्फ २५ देखि ३३ नं सीमा स्तम्भ पर्छन। कोरला नाका उत्तरी चीनको तिब्बत जोड्ने २४ नं. सीमा स्तम्भ ट्रान्जिट प्वाइन्ट हो। नेपाली सेनाको सानो टुकडी केही वर्षअघि लोमान्थाङ तल थुर्रलुङ फाँटमा क्याम्प खडा गरी व्यवस्थापन गरिसकेको छ।

नेपाली सेनाले चालु वर्षको भदौमा उत्तरी कोरला नाकाको ३३ नं सीमा स्तम्भको अनुगमन गरेको थियो। कोरला नाका स्थित ३३ नं. सीमा स्तम्भ २०४५ सालमा स्थापना गरिएको थियो।

भौगोलिक रूपमा अत्यन्तै विकट मानिएको ३३ नं. सीमा स्तम्भ गतवर्षसम्म अज्ञात थियो। सशस्त्रले मुस्ताङ र चीनको कोरलाक्षेत्रमा १८ देखि ३२ नं. सीमा स्तम्भको अनुगमन गरेपनि ३३ नं. सीमा स्तम्भको अनुमगन गर्न सकेको थिएन।

जोमसोम स्थित नेपाली सेनाको पहलमा स्थानीय दुई जना युवाको सहयोगमा ३३ नं. सीमा स्तम्भको ३४ वर्षपछि पहिचान गरिएको थियो। चीन र नेपालबीचको सीमाना कोरला नाकाबाहेक मनाङ तर्फ ९ वटा र डोल्पातर्फ ६ वटा सीमा स्तम्भ छन्।

उत्तरी कोरला नाका क्षेत्रको सीमा स्तम्भ अनुगमनका लागि नेपाली सेनाको टोली आइतबार बिहान त्यसक्षेत्रतर्फ प्रस्थान गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।

उत्तरी कोरला नाका क्षेत्रको १८ देखि २८ नं. सीमा स्तम्भहरूको अनुमगन गर्ने उद्देश्यले सेनाको टोली त्यसतर्फ जाँदै गरेको सहायक प्रजिअ बस्नेतले बताए।