झापा-  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन मिती नजिकिएसँगै विभिन्न विद्यार्थी सङ्गठनका नेता आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । त्रिभुवन विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसमा आफ्नो अस्तित्व जोगाउन विद्यार्थी सङ्गठनहरू आफू अनुकूलका गठबन्धन बनाउन थालेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित ६२ आङ्गिक र १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियु चुनाव हुने भएको छ । मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ गते र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव हुने कार्यतालिका सार्वजनिक भएको छ । 

सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी सङ्गठनले गठबन्धन गरेर चुनाव लड्ने तयारी गरेका छन् । सत्तारूढ आठ दलनिकट विद्यार्थी सङ्गठनको मोर्चा बनाउने निर्णय भइसकेको छ ।

यस्तै नेकपा एमाले निकट अनेरास्ववियु र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले चुनावमा तालमेल गर्न छलफल अघि बढाएका छन् । यद्यपि तालमेलका विषयमा निर्णय भइसकेको छैन । 

यस्तै विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवाद, ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा समाजवादी माओवादी विद्यार्थी सङ्गठनले मोर्चाबन्दी गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् । विप्लवसहित चार पार्टीले मुद्दा मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेपछि स्ववियु चुनावमा समेत गठबन्धन बनाएर चुनाव लड्ने निर्णय गरेका हुन् । 

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल निकट विद्यार्थी सङ्गठनले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् । 

स्ववियु चुनावमा उम्मेदवारको २८ वर्षे उमेर हद तोकिएको छ । उमेर हदका कारण धेरै आकाङ्क्षी चुनावबाट वञ्चित हुनुपरेको छ । यसले विद्यार्थी राजनीति गर्न इच्छुकहरूमा चुनावको रौनक पनि हराउँदै गएको छ । यसअघि २०७३ सालमा स्ववियु निर्वाचन भएको थियो । छ वर्षपछि विद्यार्थीको चुनाव हुँदैछ ।