काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनिया राजदूतले भेट गरेको केही घण्टामै ओली प्रचण्डलाई बालुवाटार पुगेका हुन्। उनीहरुबीच अहिले वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल शुरु भएको जनाइएको छ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्। 

OM Sai Pathibhara Hospital

फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत बनेको छ।

गत सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन्। त्यो सफल हुन नदिन एमालेले माधव नेपाललाई अघि सार्न खोजेको नेताहरुको बुझाइ छ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि आफूलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका छन्।