झापा : नेकपा एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि  मनोयनको फागुन १३ गतेलाई तोकेको छ। एमालेले सत्ता साझेदार दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार उक्त दिन मात्रै सार्वजनिक गर्ने भएको हो।

 

OM Sai Pathibhara Hospital

विराटनगरमा पुगेर एमाले अध्यक्ष ओलीले राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुने जानकारी दिए। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’उनले भने,  ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’

ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण निर्माण हुने बेला नै यस विषयमा सहमति भइसकेको स्पष्ट पारे। उनले भने, ‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ।’

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमालेको उम्मेदवारलाई सहयोग गर्ने विषयमा कुनै शंका उपशंका गर्ने ठाउँ नरहेको ओलीको भनाई छ।

राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसदले मतदान गर्ने पाउनेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। संविधानको व्यवस्था अनुसार कार्यकाल सकिनु अगावै निर्वाचन हुन लागेको हो।