झापा - सभामुख र उपसभामुख आफ्नै क्षेत्रबाट निर्वाचित भएको भन्दै झापाको बिर्तामोड नगरपालिकाले खुसी व्यक्त गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै नगरले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गर्दै खुसी व्यक्त गरेको हो । अब झापाको बिकासमा थप टेवा पुग्ने भन्दै नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले बिकासका काममा थप जोड दिन आग्रह गर्नुभयो । 

OM Sai Pathibhara Hospital

उहाँहरूलाई दोसल्ला ओडाएर तथा सम्मान पत्र प्रदान गरेर नगरप्रमुख पवित्रा महतारा प्रसाईंले सभामुख घिमिरे तथा उपसभामुख रानामगरलाई सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अहिले देशको राजनीतिक तथा आर्थिक अवस्था धेरै बिग्रिएको बताउनुभयो ।

झापा क्षेत्र नं २ का सांसद घिमिरेले देशको आर्थिक अवस्था निकै बिग्रिएकाले अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौती गर्ने प्रस्ताव संसदमा पेश गर्नुभएको बताउनु भएको हो । संसदमा पनि विभिन्न प्रकारका संविधान विपरितका अभिव्यक्तिहरू सांसदहरूबाटै आउने गरेकाले राजनीतिक परिस्थिति पनि अप्ठ्यारो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

बिर्तामोड नगरपालिकाद्वारा सम्मानित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले जनताका कामलाई अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो प्रयास रहने बताउनुभयो । आफूले विगतमा गरेका काममा जनप्रतिनिधिहरूले विरोध गरेका कारण आफू राजनीतिमा आउनुपरेको उहाँको भनाइ थियो ।