झापा । वरिपरि रङरोगन गरि चिटिक्क सिंगारीएको प्याराफिट । बाटैबाट देखिने गरि सजावट गरिएको गेट र व्यवस्थित बनेको खेल मैदान । करिब दुइ महिना अगाडी हेरि नसक्नु रहेको झापाको भद्रपुर स्थित मेची रङ्गशालाको अहिलेको अवस्था हो यो । 

कुनै समय नाम चलेको यो रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको हो । 

OM Sai Pathibhara Hospital

त्रिभुवन गोल्डकप भएयता यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । २०६१ देखि रंगशालाको संरक्षणमा पनि कसैको ध्यान पुगेन । रंगशालाका सबै संरचना जीर्ण बनेका थिए । ७ फागुनबाट प्रथम भद्रपुर, झापा गोल्डकप आयोजना हुने भएपछि रंगशाला सिँगार्न आयोजकलाई भ्याइनभ्याइ छ । भद्रपुर, झापा गोल्डकपको उद्देश्य पनि रङगशालाको संरक्षण गर्ने रहेको आयोजक समिति अध्यक्ष दिपेश ढकालले बताए । 

एक महिनाअघिसम्म मेची रंगशालाको मैदानमा ठूला–ठूला खाल्डा थिए । संरक्षण अभावमा रंगशाला जीर्ण बनेको थियो । जंगलजस्तै थियो । संरक्षणमा कोहि जुटेका थिएनन् । अहिले माटोको चप्परीसहित दुबो ल्याएर ग्राउन्ड निर्माण गरिएको छ । यो रंगशालालाई ७ फागुनसम्ममा नयाँ स्वरुपमा फर्काउने तयारी रहेको अध्यक्ष ढकालले बताए । 

०२५ सालमा निर्माण भएको मेची रंगशाला नाम चलेको रंगशाला हो । यहाँ भारत, बंगलादेश, नेपाललगायत देशका चर्चित खेलाडीले खेल खेलिसकेका छन् । १८ वर्ष अघि अन्तिमपटक त्रिभुवन गोल्डकप भएसँगै यो रंगशालामा खेलकुद गतिविधि हुनै छाडेको ढकालले बताए । करिब २२ लाख रुपैयाँको लागतमा रंगाशालालाई सिँगार्ने काम सकिने र अब निरन्तर यहाँ खेलकुदका गतिविधि हुने उनले बताए ।

संघीय गणतन्त्र स्थापनापछि पनि यहाँ संरचना निर्माणका काम भएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेले बताए । स्थानीय सरकारले नै ३० लाख रुपैयाँ बजेट छुट्याएर भद्रपुरमा गोल्डकप गर्नुपर्छ भनेर अभियान चलाएको उनको भनाइ छ ।