प्रदेश ब्युरो । अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाइ बैंकबाट ऋण उठाएको खुलासा भएको छ ।

राजविराज ८ का रवीन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ का वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरी राजविराज १ का समसादले एनआइसी एसिया बैंक राजविराज शाखाबाट २ करोड ८० लाख रुपैयाँ स्वीकृत गराइ २ करोड ३० लाख रुपैयाँ विभिन्न व्यक्तिलाई भुक्तानी दिइएको खुलासा भएको छ ।

OM Sai Pathibhara Hospital

घटनापछि बिहान १० बजेदेखि नै बैंकमा सर्वसाधारणको भीड लागेको थियो भने वास्तविक जग्गाधनी र उनका आफन्तले विवाद गरेका थिए । उक्त कार्यमा सद्दामको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानमा पाइएको बैंक प्रशासनको भनाइ छ ।

वास्तविक जग्गाधनी यादवले आफूलाई थाहै नदिइ कसरी आफ्नो जग्गा धितो राखेर बैंकले ऋण दियो भन्ने विषय उठाउँदा स्थिति केहीबेर तनावपूर्ण बनेको थियो । उनले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित कित्ता नं. २२१ (९ को ख) को १० कठ ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण लिएका छन् ।

उक्त बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गा धितो राखेर एनआइसी एसिया बैंकले कसरी र कुन आधारमा २ करोड ३० लाख रुपैयाँ ऋण दियो भन्ने कुराको छानबिन हुनु पर्ने माग गरेका छन् । एक जना साथीले तिम्रो जग्गा राखेर कसैले एनआइसि एसिया बैंकबाट ऋण निकालेको जानकारी गराएपछि आफू हतार हतार बैंक पुगेको र बैंकबाट आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि चकित परेको रवीन्द्रले सुनाए ।

मालपोतका कर्मचारी समेतलाई मिलाएर खातुनको नाममा नक्कली लालपूर्जा बनाइ समसादले अन्य कागजात पेश गरेपछि बैंकले २ करोड ८० लाख स्वीकृत गरेको शाखा प्रबन्धक सन्तोष यादवले जानकारी दिए । उनले स्वीकृत भएको रकम मध्ये मुख्य ऋणी समसादले १ करोड ५० लाख तथा उनैको खाताबाट क्रमशः सद्दाम र एक सहकारी संस्थामा बाँकी रकम ट्रान्सफर भएको पाइएको छ ।

नक्कली कागजलाई मालपोतका कर्मचारीदेखि आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पु¥याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकाले सोही आधारमा ऋण प्रवाह गरिएको उनको तर्क छ ।

“बैंकसँग लालपूर्जा नक्कली÷असली छुट् याउने साधन छैन्, आवश्यक प्रमाणको आधारमा ऋण दिने हो, उनले भने–‘सबै कागजात दुरुस्त पाइएपछि ऋण उपलब्ध गराइएको छ ।” ऋणीले पेश गरेको कागजपत्र नक्कली भएको जानकारीमा आएपछि बुधबार बिहानै ऋणी परिवारका समसादसँग सम्पर्कको प्रयास गरे पनि सफलता प्राप्त हुन नसकेको उनले बताए ।

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पहिलेदेखि नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै पुनः रोक्का गर्न नमिल्ने जिकिर गरे । उनले यस कार्यालयमा एनआइसी एसिया बैंकबाट जग्गा रोक्का सम्बन्धी कुनै पत्र नआएको समेत जानकारी दिए ।

उनले ऋणीद्वारा बैंकमा यदि त्यस्तो पत्र पेश गरेको छ भने त्यो पनि लालपूर्जा जस्तै नक्कली हुने दाबी समेत गरे । उक्त घटनाको अनुसन्धान गर्न बैंकको मधेश प्रदेश कार्यालयबाट सहप्रमुख नितेश श्रेष्ठको नेतृत्वको एक टोली पुगि अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले यस विषयमा चर्चा सुनिए पनि बैंक तथा पीडित भनिएका मध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको बताए । यसबारे बैंक वा पीडित भनिएका मध्येबाट उजुरी आए आवश्यक अनुसन्धान अघि बढाइने उनको भनाइ छ ।