काठमाडौँ /  सरकारले यो वर्ष उखु किसानलाई करिब ८० करोड रुपैयाँ अनुदान दिने भएको छ। नगदे बालीको रूपमा रहेको उखु खेतीतर्फ किसानलाई आकर्षित गर्नका लागि अनुदान दिन लागिएको हो।

चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्न अनुदान दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। उखु किसानलाई अनुदान दिन ८० करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।  

OM Sai Pathibhara Hospital

किसानलाई उखुमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सबनम सिवाकोटी अर्यालले बताएकी छन्। ‘किसानले मिललाई उखु बिक्री गरेको रेकर्ड आएपछि अनुदान दिन्छौं,’ सहसचिव अर्यालले भनिन्, ‘अनुदानको रकम किसानकै खातामा पठाउने व्यवस्था मिलाएका छौं।’

सरकारले अनुदान वितरणका लागि बनाइएको ‘उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि,’ अनुसारको कागजात किसानले पेस गरेपछि अनुदानको रकम पाउने गरेका छन्। मन्त्रालयले पेटिकामार्फत रकम पठाएर भुक्तानीको व्यवस्था मिलाउँदै आएको छ। जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले उखु बिक्री गरेका आधारमा सिफारिस गरेपछि किसानले भुक्तानी पाउँछन्।

चिनी मिलले उपलब्ध गराएको विवरणका आधारमा सम्बन्धित मिललाई उखु किसानको खातामा भुक्तानी गरिन्छ। मुलुकको रौतहट, नवलपरासी, सर्लाही, बारा, पर्सा, महोत्तरी, सुनसरी, कपिलवस्तु, कञ्चनपुर लगायत जिल्लामा उखु खेती हुन्छ।