विराटनगर / प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार आज दिउँसो २ बजे  शपथ ग्रहण गर्नेछन् ।  सपथग्रहण लगतै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । एमालेबाट २, माओवादी केन्द्र र राप्रपाबाट १–१ जना मन्त्री बनाउने उनको तयारी छ ।

OM Sai Pathibhara Hospital

नेकपा एमालेले बुद्धिकुमार राजभण्डारी र तिलकुमार मेन्याङ्बोलाई मन्त्री बनाउने सम्भावना छ । पूर्व संघीय सांसद मेन्याङ्बो संसदीय दलको नेताको आकांक्षी थिए । तर कार्कीले उनलाई मन्त्री बनाउने आश्वासन दिएपछि दाबीबाट पछि हटेका थिए । राजभण्डारी २०७४ सालमा निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी यसअघि एमाले प्रदेश १ को प्रमुख सचेतक थिए ।

मुख्यमन्त्रीको सचिवालयले पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको सङ्ख्या र नामको विषय नटुङ्गिएको बताएको छ । माओवादी केन्द्रले तत्काल सरकारमा सहभागिता नजनाउने बताएपछि एमालेबाट नियुक्त हुने मन्त्रीको विषयमा पनि अन्योल रहेको सचिवालयले जनाएको छ । राप्रपाबाट संसदीय दलका नेता भक्ति सिटौला  मन्त्री बन्ने सम्भावना छ ।

नेकपा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ मन्त्री बनाउने तयारी थियो । तर केन्द्रको निर्णयप्रति असहमति जनाउँदै संसदीय दलले तत्काल सरकारमा सहभागी नहुने बताएपछि आज शपथ ग्रहण गर्ने कि नगर्ने भन्ने अन्योल छ ।

आइतबार बेलुका बसेको शीर्ष नेताको बैठकले प्रदेश  भागबन्डा गर्दा  प्रदेश १ को मुख्यमन्त्री पाँच वर्षका लागि नै एमालेलाई  दिने सहमति गरेको थियो । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले मुख्यमन्त्री आधाआधा कार्यकाल हुनुपर्ने शर्त राखेको छ ।