काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम्  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन बुँदे भद्र सहमति भएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहित सात दल र स्वतन्त्र सांसदहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि प्रचण्ड र ओलीबीच तीन बुँदे भद्र सहमति भएको एक मन्त्रीले जानकारी दिएका हुन् ।

सहमतिको पहिलो बुँदामा दुई नेताबीच आधाआधा कार्यकाल आलोपालो प्रधानमन्त्री चलाउने रहेको ती मन्त्रीको भनाई छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा यो संसद्लाई पाँचै वर्ष चल्ने दिने र बीचमै संसद् विघटन नगर्ने रहेको छ । तेस्रो बुँदामा यो गठबन्धनलाई आगामी चुनावसम्म कायम गरेर जाने दुई नेताबीच सहमति भएको ती मन्त्रीले खुलाएका छन् ।

OM Sai Pathibhara Hospital

अहिलेको संसद् पाँचै वर्ष चल्छ वा चल्दैन भन्ने संशयका बीच ओली–प्रचण्डले भद्र सहमति गरेकाले अब यो गठबन्धनमा समेत विश्वासको वातावरण बनाउने प्रयास हुने ती मन्त्रीको भनाई छ । ‘अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएर सबैको स्वामित्व लिने वातावरण बनाइनेछ,’ उनले भने, ‘आमजनतामा व्यापक निराशा भएकाले न्यूनतम साझा कार्यक्रम बनाएर अल्पकालीन र दीर्घकालीन काम गर्ने योजना पनि बनाइनेछ ।’