विराटनगर / प्रदेश १ मा सरकार गठनको विषयमा दलहरू छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रदेश १ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै सरकार बनाउने गरी दलहरूबीच छलफल भइरहेको हो । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलहरूबीच छुट्टाछुट्टै छलफल भइरहेको जानकारी दिएका छन् । 

केन्द्रको गठबन्धन गरेका दलहरूकै नेतृत्वमा सरकार बन्ने भएको कारण उनीहरूसँग छलफल भइरहेको उनको भनाइ छ  । ‘हामीले माओवादी, राप्रपा, जसपा सँग छुट्टाछुट्टै छलफल गरिरहेका छौं,’ कार्कीले भने, ‘संयुक्त छलफल भने भएको छैन ।’ यता, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ले  छुट्टाछुट्टै अनौपचारिक छलफल भएपनि संयुक्त ढंगले छलफल सुरु नभएको बताएका छन् । 

OM Sai Pathibhara Hospital

प्रदेश १ मा सत्ता गठबन्धन दल नेकपा एमालेसँग ४० जना सांसद छन् । यस्तै माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपा को १ जना सांसद गरी ६० जना रहेका छन् । प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी पुस २४ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिएका छन्।

उक्त समयमा संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरू मिलेर बहुमत पुर्‍याउँदै मुख्यमन्त्रीको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुपर्नेछ । एमालेको नेतृत्वमा रहेको सत्ता गठबन्धनबाटै प्रदेश १ मा पनि सरकार बन्ने स्पष्ट छ । तर, एमाले, माओवादीमध्ये कसले मुख्यमन्त्री लिने भन्ने विषय भने अझै टुंगिएको छैन ।