काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुन व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरूलाई प्रचण्डले आग्रह गरेका हुन् ।

OM Sai Pathibhara Hospital

‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरूबीच छलफल गर्छौ र एउटा निष्कर्षमा पुगौंला’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोग पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए ।  बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरूले निर्वाचन आयोगको कामकारवाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।