धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । 

कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिन सुझाव दिएका हुन् । 

OM Sai Pathibhara Hospital

एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन । बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए । 

कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बसेको छैन । मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।

यस्तै ३ जना कार्यपालिका सदस्यले मेयर साम्पाङको पछिल्लो अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्दै दुर्व्यवहार भएको भन्दै कानून अनुसारको कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मंसिर २७ गते आफ्नो फेसबुक वालमा ‘जोरी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुर्व्यवहार भएको’ उल्लेख गरेका छन् । 

धरान उपमहानगरपालिका कार्यपालिका सदस्यत्रय सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति निकालेर साम्पाङको अभिव्यक्तिको विरोध गरेका हुन् ।