काठमाडौं / निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

प्रदेशको हकमा प्रदेश प्रमुखसमक्ष पुस २ गते प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने पनि थपलियाले बताए।

निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मङ्सिर १२ गतेभित्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मङ्सिर तेस्रो सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको बताएको थियो।

तर, तीन जिल्लामा पुनः मतदान भएको र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्सिर तेस्रो साता मात्रै सम्पन्न हुँदा आयोगले ढिला गरी मतपरिणाम सार्वजनिक गरेको थियो।

निर्वाचन परिणाम बमोजिम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। 

आयोगको अन्तिम परिणाम बमोजिम प्रतिनिधि सभा तर्फ २७५ र प्रदेश सभा तर्फ ५५० जना गरी कुल ८२५ जना निर्वाचित भएका छन्। 

समानुपातिकतर्फ एक हजार ५११ महिला र दुई हजार १९७ जना गरी तीन हजार ७०८ जना उम्मेदवारको नाम बन्दसूचीमा कायम भएको थियो। यसरी आमनिर्वाचनमा कुल उम्मेदवारको सङ्ख्या ११ हजार ५४२ रहेको थियो।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएका थिए। जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए।