काठमाडौँ / जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको नामावली टुंगो लगाएको छ । 

काठमाडौंको कोटेश्वरस्थित होटेल तपोवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । 

OM Sai Pathibhara Hospital

केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।

धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको छ । 

यस्तै, केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको छ । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा क्लस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो । 

मधेसी महिलाबाट बिबता राउत, अल्पसङ्ख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिता कुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाह, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको केन्द्रीय सचिवालयले जनाएको छ । 

यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ ।