काठमाडौं / सप्तरी –२ बाट प्रतिनिधिसभा सदस्यमा दोब्बर मतान्तरसहित विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पछिल्लो समय नेताहरूसँग भेटघाटमा व्यस्त छन् । 

संघ तथा प्रदेशको सत्ताको साँचो आफूसँग रहेको दावी गर्दै उनी सत्ता सहकार्यका लागि नेताहरूको घरघर पुगेर संवाद गरिरहेका छन् ।

OM Sai Pathibhara Hospital

उनले विभिन्न दलका दर्जन भन्दाबढी नेताहरूसँग भेटवार्ता गरिसकेका छन् । पछिल्लो समय राउतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । यी तीन नेतासँग गरेको भेटको तस्वीर राउतले बुधबार साँझ आफ्नो फेसबुकमा राखेका छन् ।

राउतले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरिसकेका छन् ।

सत्ता सहकार्यका लागि विभिन्न कोणबाट छलफल सुरु भइरहेको समयमा अध्यक्ष राउतको यो खालको भेटघाटलाई चासोपूर्वक हेरिएको छ । 

अध्यक्ष राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अन्य नेताहरुसँग बधाई तथा शुभकामना साटासाटका लागि मात्र यो भेटघाट भइरहेको उनीहरुको दाबी छ ।