झापा  / प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५६ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब नौ क्षेत्रको आउन बाँकी छ ।

हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनावमा पराजय भोगिसकेका छन् । पराजित हुनेमा गृहमन्त्री बालकृष्ण खाणदेखि राज्यमन्त्री उमेश श्रेष्ठसम्म छन्।

OM Sai Pathibhara Hospital

निर्वाचन हार्नेमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानी मन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ छन् । 

यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् ।

गृहमन्त्री बालकृष्ण खाण

रूपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै दीपक बोहरा निर्वाचित भएका छन्। उनले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार ४ मत ल्याए।

ऊर्जामन्त्री पम्फा भुसाल

प्रतिनिधिसभा सदस्यमा ऊर्जामन्त्री पम्फा भुसाल पनि पराजित भएकी छिन्। कांग्रेस र एकीकृत समाजवादीको बलियो साथ पाएकी भुसाल ललितपुर –३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग पराजित भएकी हुन् । 

कार्की ३१ हजार १३६ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका थिए भने मन्त्री भुसाल ८ हजार ७६९ मतका साथ तेस्रो स्थानमा खुम्चिनुपरेको छ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ

काठमाडौँ क्षेत्र ८ मा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजित भएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले मन्त्री श्रेष्ठलाई पराजित गरेका हुन् । विराज भक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार १७७ मत मात्रै ल्याए।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज

खेलकुदमन्त्री महेश्वर गहतराज अथकले पनि पराजयको सामना गर्नु परेको छ । बाँके क्षेत्र नं. १ बाट उम्मेद्वारी दिएका गहतराजलाई एमालेका सूर्य ढकालले पराजित गरेका हुन् । ढकालले २५ हजार २६ मत ल्याउँदा मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए। 

खानेपानी मन्त्री उमाकान्त चौधरी

बारा –१ बाट खानेपानी मन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। 

नेपाली कांग्रेसका सहमहामन्त्री चौधरीसँग मैनालीले अघिल्लो चुनावको बदला लिएका हुन्। मैनालीले ३९ हजार १९५ मत ल्याएर निर्वाचित भए। मन्त्री चौधरीले ३० हजार ५६ मत ल्याएका थिए। 

राज्यमन्त्री उमेश श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका हुन् । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए ।