झापा / प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको १५६ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा माओवादी केन्द्र दुई प्रदेशमा शून्य भएको छ। 

माओवादीले सुदूरपश्चिम र मधेश प्रदेशमा प्रतिनिधिसभा तर्फ शुन्य भएको हो। 

OM Sai Pathibhara Hospital

माओवादीले सूदुरपश्चिम प्रदेशका नौ जिल्लाका १६ वटा निर्वाचन क्षेत्र र मधेश प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये एउटा पनि क्षेत्र जित्न सकेन । 

सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये दार्चुला, डडेलधुरा, अछाम २, कञ्चनपुर २ र ३ नम्बर नम्बर क्षेत्रमा कांग्रेस र कञ्चनपुर १ मा एमाले उम्मेदवार विजयी भएका छन् भने कैलालीका पाँच क्षेत्रमध्ये १, २ र ३ नम्बर क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्।

त्यसैगरी बझाङ, डोटी र अछाम १ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुँदा एमालेले बैतडी र कैलाली १ मा जित हासिल गरेको छ। बाजुरामा भने अझै मतगणना सुरु भएको छैन। 

यसैगरी मधेशका ८ जिल्लाका ३२ मध्ये ३१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा एमाले सबैभन्दा धेरै ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ। 

एमालेले सिरहाको क्षेत्र नम्बरा १ र ३, धनुषा ३, महोत्तरी १, सर्लाही ३, बारा १ र ३, पर्साको ३ नम्बर क्षेत्रमा जित हासिल गरेको छ।

कांग्रेसले ७ निर्वाचन क्षेत्र जित्दा जसपाले ६ क्षेत्र जितेको छ भने लोसपा र स्वतन्त्रले ३–३ क्षेत्रमा जित निकाल्दा नेकपा एकीकृत समाजवादीले २ र माओवादीको चुनाव चिह्नबाट १ जना निर्वाचित भएका छन्। 

त्यसैगरी सीके राउत नेतृत्वको जनमत पार्टीले एउटा क्षेत्रमा जित दर्ता गरेको छ। धनुषा क्षेत्र नम्बर ४ मा भने मतगणना सकिएको छैन। त्यहाँ कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्। 

सप्तरीको क्षेत्र नम्बर ३ र ४, धनुषा २, महोत्तरी ४, रौतहट ४ र पर्साको २ र ४ नम्बर क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। त्यसैगरी जसपाका उम्मेदवार सप्तरी १, सिरहा २ र ४ धनुषा १, बारा २ र पर्सा १ नम्बर क्षेत्रमा विजयी भएका छन्।

लोसपाका उम्मेदवार मधेशका ३ वटा क्षेत्रमा विजयी भएका छन्। लोसपा महोत्तरी २ र ३ तथा सर्लाही १ नम्बर क्षेत्रमा विजयी भएको हो। सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार विजयी हुँदा सर्लाही ४ र रौतहटको २ र ३ नम्बर क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

नेकपा एकीकृत समाजवादीले रौतहट १ र बारा ४ नम्बर क्षेत्रमा जित हासिल गरेको छ। माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेका एक उम्मेदवार सर्लाही २ मा विजयी भएका छन्।