काठमाडौं / निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

“कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैप्रति घात हुने कल्पनासमेत गर्दैनन्”, संयुक्त विज्ञप्तिमा भनिएको छ, “भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।”

OM Sai Pathibhara Hospital

गलत सूचनाप्रति आपत्ति जनाउँदै सो संयुक्त विज्ञप्तिमा यसलाई निर्वाचन अपराधका रूपमा लिएर कानुनी कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ । कांग्रेस र माओवादीले अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।