सर्लाही  / सर्लाहीको हरिवन नगरपालिका –११ बाट चुनाव बहिष्कार गर्ने प्रचार–प्रसार गर्दै हिँडेका नेकपा (बहुमत) पार्टीका चार जनालाई नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेकपा (बहुमत) पार्टीका जिल्ला इन्चार्ज विचारमान थिङ्ग, युवा जनस्वयंसेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, जनस्वयंसेवक नेपालका केन्द्रीय सदस्य भरत पुलामी मगर र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य उपेन्द्र परियार रहेका छन् । 

OM Sai Pathibhara Hospital

निर्वाचन बहिष्कार गर्ने प्रचार प्रसार गर्दै हिँडेका उनीहरूलाई शुक्रबार दिउँसो करिब ४ बजे हरिवन नगरपालिका –११ बासाटोलबाट मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सदा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यता, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्नो पार्टीका नेता कार्यकर्ताहरूलाई यथाशीघ्र रिहाईको माग गरेको छ।