झापा / आसन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५० निर्वाचन क्षेत्रमा ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

कतिपय निर्वाचन क्षेत्रमा पार्टीले टिकट नदिएका कारण बागी उम्मेदवारी दिएका छन् । बागी भए पनि कानुनतः उनीहरूको उम्मेदवारी स्वतन्त्र मानिन्छ । १६५ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा भने स्वतन्त्रको नजर पर्न सकेको छैन । 

OM Sai Pathibhara Hospital

त्यसरी स्वतन्त्र उम्मेदवारी नपर्ने क्षेत्रमा अधिकांश पहाडी जिल्ला छन् । कम मतदाता भएको र दुर्गम ठाउँमा स्वतन्त्र उम्मेदवार छैनन् । चुनाव प्रचार गर्न गाह्रो हुने, सबै मतदातासँग पुग्न नसकिने भएकाले पनि त्यस्ता ठाउँमा स्वतन्त्र उम्मेदवार नभएको विश्लेषकहरू बताउँछन् । 

कम स्वतन्त्र उम्मेदवार हुनेमा १२ वटा क्षेत्र रहेको कर्णाली प्रदेश पहिलो नम्बरमा पर्छ । कर्णालीमा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ जना पनि स्वतन्त्र उम्मेदवार छैनन् । कर्णाली प्रदेशको एउटा मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा जम्मा ३ वटा पार्टीबाट मात्र उम्मेदवार छन् । 

हुम्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मात्र उम्मेदवारी परेको हो । त्यस्तै कर्णालीकै दैलेख –२, सुर्खेत –१ र सुर्खेत –२ मा स्वतन्त्र उम्मेदवारी शून्य छ ।

यस्तै प्रदेश १ का २८ मध्ये २ वटा क्षेत्रमा पनि स्वतन्त्रको उपस्थिति शून्य छ । एउटामात्र निर्वाचन क्षेत्र रहेका सोलुखुम्बू र ओखलढुङ्गामा १ जना पनि स्वतन्त्र उम्मेदवार छैनन् । 

३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशका सबै क्षेत्रमा कम्तीमा १ जना स्वतन्त्र उम्मेदवार छन् । त्यस्तै सबैभन्दा बढी ३३ वटा निर्वाचन क्षेत्र रहेको बाग्मतीका सबै क्षेत्रमा स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।

१८ निर्वाचन क्षेत्र रहेको गण्डकीमा ३ क्षेत्रमा स्वतन्त्र उम्मेदवार छैनन् । गण्डकीको एउटैमात्र निर्वाचन क्षेत्र रहेको मनाङमा ३ जनाको उम्मेदवारी पर्दा स्वतन्त्र शून्य छन् भने र मुस्ताङ तथा तनहुँ –२ मा पनि स्वतन्त्र उम्मेदवार छैनन् । 

मनाङमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् भने मुस्ताङमा एमाले, कांग्रेस, राप्रपा र रास्वपा गरी ४ वटा पार्टीका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

२६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा ३ क्षेत्रमा कसैको पनि स्वतन्त्र उम्मेदवारी परेको छैन । एउटा मात्र निर्वाचन क्षेत्र रहेका अर्घाखाँची र रोल्पा तथा बाँके –३ मा स्वतन्त्रको नजर नपरेको हो । 

यस्तै, १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको सुदूरपश्चिम प्रदेशमा ३ क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारी शून्य छ । दार्चुला, अछाम –२ र कञ्चनपुर –२ मा कसैको पनि स्वतन्त्र उम्मेदवारी नपरेको हो ।