मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा वास्तविक उम्मेदवार नभएको बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले राप्रपाले भोट काट्नका लागि मात्र थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको उल्लेख गरे । निर्वाचनलाई आफ्ना प्रतिनिधि छान्ने अवसरका रुपमा प्रयोग गरी मतदाताले विवेक पुर्याएर जनताका पक्षमा काम गर्नेलाई मत दिनुपर्ने उनको भनाइ थियो ।

२०७४ को निर्वाचन जितेर गएका एमाले उम्मेदवार भानुभक्त ढकालले सांसद हुँदै मन्त्रीसम्म बन्दासमेत आफ्नो क्षेत्रका जनताको हितमा कुनैपनि काम नगरी भ्रष्टाचारमा लिप्त् भएको डा.शर्माले बताए । आफूले भने सोही निर्वाचनमा हार व्यहोरेर पनि जनताको सेवा जारी राखेकाले मतदाताले काम गर्ने व्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्ने उनले उल्लेख गरे । नेतृत्वमा नरहेकै अवस्थामा पनि जनकल्याणका लागि अहोरात्र खट्ने व्यक्तिलाई नेतृत्वमा पुर्याए त्यसबाट देश नै लाभान्वित हुने उनको भनाइ थियो ।

OM Sai Pathibhara Hospital

आफ्नो क्षेत्रका जनताको स्वास्थ्य सुरक्षाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै डा.शर्माले पैसा नभएकै कारणले कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे । आफूले नीतिगत सुधार गरी स्वास्थ्य बीमाको रकम एक लाखबाट पाँच लाखमा पुर्याउने बताउँदै उनले त्यसो गर्न तत्काल सम्भव नभए निजी स्रोतबाट भएपनि उपचार सेवा प्रवाह गर्न आफू तयार रहेको स्पष्ट पारे । भौतिक विकासको अपेक्षा सबै जनतामा समान प्रकृतिको भएको बताउँदै डा.शर्माले भौतिक पूर्वाधारको विकासमा इमानदारीपूर्वक राज्यकोषको बजेट आफूले परिचालन गर्ने हुँदा त्यो अपेक्षा पूरा गर्न मतदाताले आफूलाई नेतृत्व दिनुपर्ने उल्लेख गरे ।