मोरङमोरङको सुन्दरहरैचा -११ कर्जुनामा प्रदेश नं १ स्तरीय प्रादेशिक सरुवा रोग अस्पताल निर्माण अलपत्र बनेको छ । तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले शिलान्यास गरेको उक्त ५० शय्याको प्रादेशिक सरुवा अस्पताल अलपत्र परेको हो ।धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा रहेको १४ बिघा जग्गा मध्ये ५ बिघा क्षेत्रफलमा उक्त अस्पताल बनाउन प्रतिष्ठानले अनुमति दिएको थियो । प्रतिष्ठानले जग्गा उपलब्ध गराएसँगै तत्कालीन मन्त्री ढकालले २०७७ माघ १९ गते उक्त भवन निर्माणको शिलान्यास गरेका थिए ।

तर निर्माण हुने भनिएको अस्पताल शिलान्यास पछि अलपत्र बनेको छ । अहिले उक्त जग्गाको रेखदेख गर्ने व्यक्ति कृष्ण प्रसाद न्यौपानेले अन्न उब्जाउन थालेका छन् । अस्पताल बन्ने छाटकाट नदेखेपछि अन्न बाली उब्जाउ गर्न थालिएको न्यौपानेको भनाई छ । अस्पताल निर्माणका लागि शिलान्यास भएपछि उनले छैटौँ पटक वाली लगाएका छन् । तत्कालीन समयमा पाक्न लागेको तोरी विनाश गरेर अस्पतालको शिलान्यास गरिएको थियो ।

OM Sai Pathibhara Hospital

अस्पताल शिलान्यास हुँदा जुन खुसी स्थानीयमा थियो त्यो खुसी अहिले निराशामा परिणत भएको छ । अस्पताल बन्छ भन्ने आशै आशामा बसेकी स्थानीय हरिमाया लिम्बू भन्छिन् शिलान्यास भएको बेला मान्छे आएको देखिएको तर अहिले आएको नआएको थाहा छैन । अस्पताल बन्ने आस मरिसकेको छ । लिम्बू भन्छिन् खै अस्पताल आउँछ भन्दा खुसी थियौ अब त अस्पताल बन्छ भन्ने आस पनि मरिसक्यो ।  जग्गा प्राप्तिको काम नै नगरी लाखौँको डीपीआर तयार गरी शिलान्यास गरेको उक्त अस्पताल बन्न केन्द्र सरकारबाट ८ करोड बजेट समेत विनियोजन गरिसकिएको थियो । उक्त बजेट समेत चुनावको बेला पूर्व मन्त्री ढकालले आफूले विनियोजन गरी काम गरेको भनेर आफ्नो प्रगति विवरणमा त हाल्न भ्याए तर एक पटक पनि पुन त्यस ठाउँमा भवन बन्यो बनेन हेर्न समेत जान भ्याएनन् ।

ढकालले आफ्नो प्रगति विवरणमा उक्त अस्पतालको नाम हाल्दा यता स्थानीय भने आक्रोशित भएका छन् । स्थानीय सुरेन्द्रप्रसाद ओझाले अस्पताल बनाउने भनेर जनप्रतिनिधिले जनता माझ भ्रम मात्र छरेको बताए । अस्पताल बनाउने कुरा हल्ला हल्ला मा मात्र सीमित रहेको बताए । उनले भने एक दिन आएर खाल्डो खने । मन्त्रीहरू आए अन्त्यमा केही न केही । जनता झुक्क्याउने काम मात्रै भयो । अस्पताल बन्ने भएपछि स्थानीय सुकुम्बासीका केही घरलाई अर्को स्थानमा व्यवस्थापन गर्ने पूर्व मन्त्री ढकालले आश्वासनसमेत दिएका थिए । तर न त अहिले सम्म अस्पताल बन्यो न त त्यहाँ रहेका सुकुम्बासी बस्तीले जग्गा प्राप्ति नै गर्न सके । टेकु अस्पतालका ३ सय बेडले मात्र नधान्ने भन्दै सातै प्रदेशमा ल्याब सहितको सरुवा रोग अस्पताल निर्माण गर्ने योजना केन्द्र सरकारले बनाएको हो ।


उनै ढकाल यति बेला पुन मोरङ ३ बाट निर्वाचनमा होमिएका छन् । नेतृत्वमा रहेका व्यक्तिहरूलाई निर्वाचनको समयमा विभिन्न आरोप लाग्नु सामान्य हो । मोरङ-३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो आरोप हो ढकाल भ्रष्टाचारी हुन् । ढकालमाथि लाग्ने गरेको उक्त आरोपका कारण मतदातामा उनको छवि विवादित बनेको छ । त्यति मात्रै होइन, उनीमाथि आफ्नो सिट सुरक्षित गराउन तेह्रथुमबाट मोरङ आएर जितेको तर जितपछि फर्किएर पनि आफ्नो क्षेत्रमा नआएको आरोप छ ।


कोरोनाको पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गर्दा उनी स्वास्थ्य मन्त्री थिए । ओम्नी नामको कम्पनीलाई उनी नेतृत्वको स्वास्थ्य मन्त्रालयले प्रक्रिया नपुर्‍याई ठेक्का दिएको र त्यसको कमिसन एजेन्ट आफैँ भएको आरोप ढकाललाई लाग्ने गरेको छ । अघिल्लो निर्वाचनमा निकै दौडधुप गरेर जनताको घर आँगनमा पुगेका ढकाल यस पटक खुलेर जनतामाझ जान सकेका छैनन् । उनी प्रायस कार्यकर्ता भेटघाट र उनीहरूलाई परिचालन गराउनमै व्यस्त देखिन्छन् ।