मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वमन्त्री भानुभक्त ढकाल जीवित रहेसम्म यस क्षेत्रमा मेडिकल कलेज नआउने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा .शर्माले आफूले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा मेडिकल कलेज सञ्चालनका लागि लाइसेन्स लिने प्रकृया अगाडि बढाएकोमा तत्कालीन अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले असहयोग गरी लाइसेन्स रोकेको बताए ।

दुई तिहाइ बहुमत सहितको एमाले नेतृत्वको तत्कालीन सरकारले जस्तोसुकै ऐनमा संशोधन गरी मेडिकल कलेज सञ्चालनका लागि मार्ग प्रशस्त गर्न सक्ने अवस्था रहेकोमा आफूलाई बदनाम गराउने बदनियतका साथ सरकारले लाइसेन्स रोकेको उनको भनाइ थियो । आफूले नोबेल मेडिकल कलेजलाई असर पर्ने देखेर लाइसेन्स रोकेको भन्ने विपक्षी दलको आरोपबारे प्रष्ट पार्दै डा.शर्माले नोबेल मेडिकल कलेजका कारणले मेडिकल कलेज बन्द हुने तर विराट मेडिकल कलेजका कारणले त्यस्तो नहुने भन्ने तर्क हास्यास्पद भएको बताए । आफू हालसम्म कुनै निर्णायक सरकारी ओहदामा पुग्दै नपुगेकाले आफूले नीतिगत निर्णयमा प्रभाव पार्ने कुनै सम्भावना नरहेको उनको भनाइ थियो ।

OM Sai Pathibhara Hospital

मेडिकल कलेज सञ्चालनका लागि तीन सय शैयाको अस्पताल र दक्ष शिक्षक अनिवार्य आवश्यक पर्ने भन्दै डा.शर्माले ती दुई पूर्वाधारको अभावमा मेडिकल कलेज सञ्चालन गर्न कानूनले नदिने बताए । आफूले निर्वाचन जितेमा मापदण्ड पूरा गरी मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।शून्यबाट सुरु गरी चिकित्साशास्त्रमा विद्यावारिधि (पीएचडी) तहसम्म अध्यापनको प्रबन्ध गर्न सक्ने क्षमता भएका नेपालका उत्कृष्ट १० व्यक्तिमध्ये आफू पनि एक रहेको उल्लेख गर्दै डा. शर्माले पूर्वाधार पूरा भएको एक सय दिनभित्र कलेज सञ्चालनको स्वीकृति दिनेगरी काम गर्न आफू सक्षम रहेको प्रष्ट पारे ।

२०७४ मा चुनाव जितेर गएका एमाले सांसद ढकालले सरकारमा मन्त्री हुँदासमेत कुनै उल्लेखनीय काम नगरेको भन्दै उनले ढकालले मतको अपमान गर्दा पाँच वर्षसम्म देशैभरका जनताले कालो दिन ब्यहोर्नुपरेको बताए । आफ्ना प्रतिद्वन्द्वी ढकाललाई पशुपतिनाथ मन्दिरमा गई आफूले भ्रष्टाचार नगरेको भनी आफ्ना छोराछोरीका नाममा कसम खान चुनौती दिँदै डा. शर्माले आफूले कहिल्यै पनि कुनै भ्रष्टाचार नगरेको र आगामी दिनमा समेत नगर्ने हुँदा आफूले त्यसो गर्नसक्ने क्षमता राख्ने उनको भनाइ थियो ।
२०७४ को आम निर्वाचनमा ढकालसँग झिनो मतले पराजित भएका डा.शर्माको प्रतिस्पर्धा यस पटक पनि उनीसँगै रहेको छ ।