चितवन / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नक्कली ‘आउट डेटेड’ औषधि भएको आरोप लगाएका छन् । नेकपा एमालेको चितवनको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई एउटा काम गरेको देखाउन चुनौती दिए । उनले भने, ‘देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम गरेको देखाइदिनुस् ? मञ्चमा भाषण गर्दा एमाले अध्यक्षले के काम गर्नुभयो भनेर सोध्नुभएको थियो, मैले यो गरेँ भनेर भनिदिनुस् । मञ्चमा भन्न गाह्रो भए टेलिभिजनमा भन्दिए पनि हुन्छ । ’अध्यक्ष ओलीले अहिलेको गठबन्धन चारतिर फर्केका र उनीहरूको फरकफरक घोषणापत्र खानको लागि ल्याइएको बताए ।

ओलीले भने, ‘जनयुद्धका शहीदहरूलाई थाहा छ, घाइतेहरूलाई थाहा छ, प्रचण्ड को हो भनेर, मैले केही भनिरहनुपर्दैन ।’ अध्यक्ष ओलीले अहिलेको गठबन्धन फुटेको हाँडीको चोइटा भएको र देशको लागि अभिशाप भएको बताए । उनले भने, ‘छुचुन्द्रोले आफू भन्दा ६ गुना बढी खानुपर्छ, अहिलेको गठबन्धन त्यस्तै हो, यिनीहरु आफ्नो चिउँडोमात्र चलाउँछन् ।’ प्रचण्डप्रति संकेत गर्दै उनले भने, ‘ चितवनले जानेको छ, कसलाई भगाउनुपर्छ, कसलाई जिताउनुपर्छ, मैले केही भनिरहनुपर्दैन ।’ ओलीले रवि लामिछानेप्रति संकेत गर्दै भने, ‘दमाहा, ढ्यांग्रो केही पनि बजाएको छैन, जाबो एउटा घण्टी पनि बजाउन नपाउने ?  बजाउँछन् मंसिर चार सम्म बजाउन दिऔँ ।’