झापा / आयोगले आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीविवरण तथा सेवन गर्न रोक लगाउने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न आयोगले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको जानकारी दिए । 

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उलङ्घन सम्बन्धी उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टिकरण, उजुरीको फछर्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।

आयोगले आफ्नो कार्यक्षेत्र भित्रको कुनै पनि स्थानमा कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि गरेको, भोज भतेर गरेको वा हातहतियार वा निशेधित सामान लिई हिडेको र शान्ति भंग गर्ने प्रयास भएको पाइए निगरानी राखेर तत्काल जानकारी गराउन भनेको छ । 

तत्काल कारबाही गर्नुपर्ने अवस्था आएमा आधिकारिक निकायलाई त्यस्तो कार्य गर्न निर्देशन दिने भनिएको छ । निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका निकायहरूले आचारसंहिता विपरीत काम भए त्यसको विवरण लेखी सम्बन्धीत जिल्लाको आचारसंहिता अनुगमन समितिलाई पठाउन भनिएको छ ।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सक्षम रहेको पनि बताएका छन् ।