झापा / दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ ।

घाइते धामी माओवादी केन्द्र काठमाडौँ - दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँपालिकामा झडप भएको थियो। घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको शाहीले बताए । सो क्षेत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ ।