झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जितहारको जोडघटाउ शुरु भएको छ । 

दलहरूको समीकरण भइरहदा मुख्य दलका प्रमुख नेताहरूको अवस्था बारे चुनावी परिणाम कस्तो आउला भन्ने बारे अहिले सबैको चासोको विषय बनेको छ । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय राजनीतिमा उदाएका प्रमुख दलहरूका अध्यक्षहरू अहिले चुनावी मैदान उत्रिएका छन् । कति पय नेताहरू ‘सेफ जोन’मा छन् भने केही नेता यसै भन्न नसकिने अवस्थामा छन् त कोही परीक्षणकै घडीमा छन् ।  

हाल देशको बागडोर सम्हाली रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने अहिले सम्म सेफ जोनमा देखिन्छन् । 

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सुरक्षित नै देखिन्छन् । 

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने यसै भन्न सक्ने अवस्थामा छैनन् ।  राप्रपा नेपालका अध्यक्ष कमल थापा र नयाँ दल खोलेर तात्तातै चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने भने परीक्षणमै छन् । कमल थापा एमालेको सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका छन् ।