झापा / निर्वाचन आयोगको तथ्याङ्कअनुसार यस पटक प्रतिनिधिसभा चुनावका लागि देशभरबाट ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसमध्ये कतिपय पार्टीबाट बागी उम्मेदवार बनेका छन् । तर, कतिपय उम्मेदवारहरू यस्ता पनि छन्, जो त्यस क्षेत्रको चुनावी परिणामको निर्णायक बन्ने हैसियत राख्छन् ।

OM Sai Pathibhara Hospital

चुनाव जिते पनि वा नजिते पनि ती स्वतन्त्र उम्मेदवारका कारण गठबन्धनको जोड कमजोर बन्न सक्छ । त्यस्तै, आफ्नो किल्ला सम्झने नेताहरूका लागि यी उम्मेदवारहरूले यस पटक राम्रै पाठ भने पक्कै पनि सिकाउनेछन् ।

यस पटकका चर्चित स्वतन्त्र उम्मेदवारमध्येका एक हुन् दीपक कुमार पाठक (युग पाठक) । उनी यस अर्थमा पनि चर्चित छन् कि झापा –५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । ओलीसँगै यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार छन् ।

कुनै समयका सक्रिय कम्युनिस्ट कार्यकर्ताका रूपमा चिनिने पाठक अहिले देशकै ठूलो कम्युनिस्ट पार्टीका नेतालाई हराउन लागिपरेका छन्। 

उनले बेलाबेलामा लेख्ने गरेका लेखहरूमा पनि ओलीको व्यापक आलोचना गर्ने गरेका पाइन्छ । हेटौँडा र काठमाडौँलाई कर्मथलो बनाएका पाठक कुनै समय सरकारी जागिरे थिए।

आफ्नो लेखन कलालाई थप उजागर गर्न उनले सरकारी जागिरसमेत छाडे। ‘उर्गेनको घोडा’, ‘माङ्गेना’ जस्ता पुस्तक उनैले लेखेका हुन् । केपी ओलीले संसद् विघटन गर्दा उनी बृहत् नागरिक आन्दोलनमा सक्रिय भएर लागेका थिए।

राजनीतिक विचार विरुद्धको लडाइँबाहेक झापा– ५ का जनताको दैनन्दिनमा प्रभाव पर्ने किसिमका काम खासै नगरेका कारण उनलाई जिताइहाल्ने अवस्थामा त्यहाँका जनता देखिँदैनन् । तर, ‘हेभी वेट’ नेताको विरुद्ध खुलेरै लागेका कारण उनले यस पटक सामाजिक सञ्जालदेखि स्थानीय स्तरमा राम्रै स्थान पाएका छन् ।