बिर्तामोड / झापा क्षेत्र नं-२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना, प्रदेशसभ-२ का उम्मेद्वार खगेन्द्र मैनाली, प्रदेशसभा–१ का उम्मेद्वार पुष्प पोखरेल सहित गठबन्धनका कार्यकर्ताहरूले अर्जुनधारा एवं बिर्तामोड नगरपालिकाका विभिन्न वडामा प्रचार अभियान सम्पन्न गरेका छन् । क्षेत्र नं-२ प्रदेशसभा-२ अन्तरगत अर्जुनधारा वडा नं-११ मा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार रानाले आफूले अर्जुनधारा नगरप्रमुखको भूमिकामा रहँदा थुप्रै जनमुखी एवं विकास निर्माणका काम गरेको उदाहरण पेश गर्दै संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं जन-समृद्धिका क्षेत्रमा काम गर्ने अवसर दिन आह्वान गरेका छन् ।

प्रदेशसभा-२ का उम्मेद्वार खगेन्द्र मैनालीले झापा क्षेत्र नं–२ प्रदेशसभा–२ मा पर्ने आधा दर्जन बढी खोलाहरूमा तटबन्ध एवं चेकड्याम निर्माण, सडकहरूको स्तरोन्नति एवं पक्की सडक निर्माण, कृषिलाई प्राथमिकतामा राखेर सिँचाइ एवं मलखादको व्यवस्थापन, सुकुम्बासी समस्या समाधान, शैक्षिक संस्थाहरूको स्तरोन्नति एवं प्राविधिक शिक्षा विस्तार लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । यसैबीच झापा क्षेत्र नं–५ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभा -१ का उम्मेद्वार जीवनकुमार राई र प्रदेशसभा -२ का उम्मेद्वार  गगन पुरीसहित गठबन्धनका कार्यकर्ताहरूको टोलीले कमल गाउँपालिका वडा नं–७ र गौरादहमा घरदैलो एवं कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् ।

OM Sai Pathibhara Hospital

कोणसभाका क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एवं कांग्रेस महाधिवेशन प्रतिनिधि अधिकारीले अहिलेसम्म भएका ब्यवस्था परिवर्तनका आन्दोलनमा नेपाली कांग्रेसले सँधै नेतृत्वदायी भूमिका खेलेको धारणा राख्दै अव जनताको जीवनस्तर बृद्धि र रोजगारी सिर्जनाका लागि कार्य गर्ने अवसर दिन जनतासँग आग्रह गरे । कांग्रेस नेतृत्वको गठबन्धनको विजयले मात्रै मुलुकमा स्थायित्व र शान्ति प्राप्त हुने उनको भनाई थियो ।