झापा / नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीले बागी उमेदवारलाई सहयोग गरेको भन्दै धरानका १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णयविरुद्ध गतिविधिमा लागेको भन्दै कारबाही गरिएको एमालेले जनाएको छ ।  एमाले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीसहित १० नेतालाई जिल्ला कमिटी सुनसरीले कारबाही गरेको हो । कारबाहीमा परेका कार्की एमालेबाट विद्रोह गर्दै प्रतिनिधिसभामा उम्मेदवारी दिने मनोज मेन्याङ्बोको निर्वाचन परिचालन कमिटीका सदस्य छन् । कारबाहीमा पर्ने उद्धव श्रेष्ठ एमाले परित्याग गरी राप्रपा प्रवेश गर्दै प्रदेशसभा उम्मेदवार छन् । 

कारबाही पर्ने अन्यमा नगर कमिटी सचिवालय सदस्य नारायण भट्टराई, सुनसरी काठमाडौं सम्पर्क मञ्चका खगेन्द्र मेन्याङ्बो, जिल्ला कमिटी सल्लाहकार हरिहर प्यारा श्रेष्ठ, धरान १३ नम्बर वडा कमिटी अध्यक्ष घनश्याम तिम्सिना, धरान नगर कमिटी सदस्य हरि तामाङ, १ नम्बर क्षेत्रीय सदस्य पहलमान बस्नेत र सङ्गठित सदस्यहरू ठाकुरबहादुर कार्की र राजकुमार राई छन् । नेकपा एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले धरान उमहानगर कमिटीलाई कारबाहीको पत्र पठाएका छन् ।

एमाले पार्टीको विधानको धारा ८० उपधारा ६ र धारा ८१ को उपधारा १ र २ बमोजिम कारबाही गरिएको जिल्ला अध्यक्ष भण्डारीले पठाएको पत्रमा उल्लेख छ । धरान उपमहानगर कमिटीलाई कारबाहीको पत्र पठाउँदै भण्डारीले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका हुन् । नेकपा एमालेले सुनसरी क्षेत्र नम्बर -१ मा जनता समाजवादी पार्टीसँग गठबन्धन गरेपछि रुष्ट रहेका नेताहरू स्वतन्त्र उमेदवारको पक्षमा लागेका छन् । एमालेमा विद्रोह गर्दै बागी उम्मेदवारी दिएका पूर्व मेयर मनोज मेन्याङ्बोलाई सघाउने एमालेका नेता कार्यकर्ता प्रचारमा लागेका छन् । मेन्याङबो खरायो चुनाव चिह्नसहित चुनावी मैदानमा छन् ।