दार्चुला / दार्चुलामा लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
जिल्लाको अपीहिमाल गाउँपालिका —५ स्थित ओखलमा झडप हुँदा एमाले तर्फका २ र गठबन्धनका २ गरी ४ जना कार्यकर्ता घाइते भएका हुन् ।
घाइते हुनेमा एमालेको तर्फबाट शैल्यशिखर नगरपालिका —९ का २५ वर्षीय सुरेश बादी र मार्मा गाउँपालिका —३ का २८ वर्षीय बिरेन्द्र बिष्ट रहेका छन् भने गठबन्धनका तर्फबाट अपीहिमाल गाउँपालिका —६ का २० वर्षिय जहेन्द्र धामी सोही ठाउँका २५ वर्षीय जगत धामी रहेको दार्चुला प्रहरीले जनाएको छ ।
घाइतेहरूको लटिनाथ अस्पताल मार्मामा उपचार भइरहेको छ । एमाले प्रदेश (ख) का उम्मेदवार रामदत्त जोशीसहितको टोलीलाई गठबन्धनका कार्यकर्ताहरूले अवरोध गर्दा झडप भएको स्थानीयले बताएका छन् ।




































