बिर्तामोड / नेपाली कांग्रेस प्रदेश नं-१ का सभापति उद्धव थापाले संविधानको रक्षा, लोकतन्त्रको प्रत्याभूति, जनताको समृद्धि सुनिश्चित नभएसम्म गठबन्धन यथावत रहने बताएका छन् । नेपाली कांग्रेस झापा पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले गठबन्धन नयाँ अभ्यास नभएको बताउँदै केपी ओलीले आफ्नै दम्भका कारण दुइ पटकसम्म संसद विघटन गरेपछि संविधान र जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि कांग्रेस सडकमा उत्रिएको र वर्तमान गठबन्धन बनेकोले यसको निरन्तरता अझै आवश्यक रहेको बताए । थापाले अहिलेको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अग्रगमन पक्षधर रहेको र एमाले–राप्रपा लगायत दलको गठबन्धन प्रतिगमन पक्षधर रहेकाले निर्वाचनमार्फत जनताले प्रतिगमनलाई परास्त गर्ने विश्वास व्यक्त गरे ।

के.पी. ओलीले गठबन्धनको गलत प्रचार गरेर जनमानसमा भ्रम सिर्जना गरिरहेकोतर्फ सचेत हुन आम जनतालाई आग्रह गर्दै सभापति थापाले गठबन्धनका उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न पत्रकारहरूलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले राजनीतिक परिवर्तन एवं सामाजिक रूपान्तरणमा प्रेसको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । सो कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका सञ्चारकर्मी लीला अनमोल र डा। आशिष भण्डारीलाई सभापति थापाले पार्टीको सदस्यता प्रदान गरेका छन् ।  पूर्व केन्द्रीय सदस्य शिवाकोटी, कांग्रेस कार्यवाहक सभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई, महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङ, बिर्तामोड नगरसभापति भोजराज सिटौला, नेपाल प्रेस युनियन केन्द्रीय सचिव रेजिना गौतम, झापा अध्यक्ष इन्दु पूर्वेली, लगायतले खादा र अविर लगाएर स्वागत गरेका हुन् ।

OM Sai Pathibhara Hospital

कांग्रेसको सदस्यता ग्रहण गर्दै सञ्चारकर्मी अनमोलले आफ्नो विगतप्रति कुनै गुनासो नरहेको र आफू नयाँ सोच, नयाँ विचार र नयाँ जोश लिएर माइतीघर फर्किएको अनुभव भइरहेको बताए । विगतमा पार्टीबाहिर रहँदा र पार्टीभित्र रहँदा पनि आफूले कांग्रेस पार्टीकै नजिक रहेर कार्य गरेको टिप्पणी गर्दै अनमोलले साहित्य र पत्रकारिताका माध्यमबाट सामाजिक रूपान्तरणका लागि सक्रिय हुने प्रतिबद्धता व्यक्त गरिन् । सो क्रममा डा. आशिष भण्डारीले गठबन्धन दलको एकताबाट मात्रै संविधान र लोकतान्त्रिक शासनपद्धतिको संरक्षण हुने देखेर आफू कांग्रेसमा प्रवेश गरेको बताए । नेपाली कांग्रेसका कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।