झापा / सिराहामा नेकपा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोल बजार -४ भट्टटोलमा एक समारोहको आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा सिराहा क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर उनीहरूलाई स्वागत गरे । उनीहरू गोल बजार -४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोल बजार- ६ का अरुण कुमार साहलगायत रहेका छन् ।

नव-आगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै नेता साहले आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरेका छन् । उनले आफू पदमा रहँदा वा नहुँदा सधैँ जनताको सेवामा रहेको सुनाए । उनले भने, ‘मैले राजनीतिक जीवन सुरु गरेदेखि नै जनताको काममा निरन्तर लागिरहेको छु, सत्तामा हुँदा बढी र बाहिर रहँदा कम मात्र हो । ’सोही क्रममा उनले यो क्षेत्रको विकासको काममा पनि आफू सधैँ लागि परेको नेता साहले बताए । उनले यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताए ।