विराटचोक  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर -३ कि उम्मेदवार रेखा थापाको पक्षमा स्थानीय महिलाहरूले नाराबाजी गरेका छन् । शनिवार घरदैलोको क्रममा सुन्दरहरैंचा -१२ पुगेकी थापालाई जिताउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै केही महिलाहरूले उनको पक्षमा नारा लगाएका थिए ।

रेखाको समर्थनमा नारा लगाउने स्थानीय शान्त चौधरी भन्छिन् धेरै पटक अरूलाई हेर्यौ अब एक पटक हाम्रो चेलीलाई, छोरी पनि जिताऊँ न त कतिसम्म गर्न सक्नुहुँदो रहेछ भनेर समर्थन गरेको हो । हामी उहाँलाई साथ दिन्छौ । उहाँ स्थानीय पनि हुनुहुन्छ । त्यै भएर पनि हाम्रोलाई हैन राम्रोलाई हेरौँ भनेर हो । चौधरीले महिला प्रतिनिधि आउँदा आफ्नो समस्या गुनासो सुनाउन समेत सहज हुने जिकिर गर्दै भनिन् पुरुष प्रतिनिधि आउँदा के भन्ने के बोल्ने भन्ने हुन्थ्यो । महिला नै प्रतिनिधि हुँदा समस्या सुनाउन समेत सहज हुने रहेछ ।

OM Sai Pathibhara Hospital

मोरङ -३ मा एमालेका भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट कङ्ग्रेसका सुनिल शर्मा (न्यौपाने) बीच प्रतिस्पर्धा हुने अनुमान भइरहँदा राप्रपाकी थापाको उपस्थितिले यश क्षेत्रमा चुनावी माहोल थप रोचक बनेको छ । गत स्थानीय तहको निर्वाचनको आधारमा राप्रपा चिन्ताजनक अवस्थामा रहे पनि थापालाई महिला तथा युवाहरूले बलियो साथ दिएका छन् । यस अघि शुक्रवार समेत घरदैलोका क्रममा थापालाई पथरीशनिश्चरेका स्थानीय महिलाहरूले फुल माला र अबिर सहित उत्साहजनक ढङ्गले स्वागत गरेका थिए । त्यस्तै  बेलबारी, कानेपोखरी र पथरीका सुकुम्बासी बस्तीका मतदाताले रेखाको पक्षमा हस्ताक्षर संकलन अभियानसमेत चलाएका थिए । जस कारण पनि थापाको उपस्थिति कङ्ग्रेस र एमालेको लागि चिन्ताजनक बन्दै गएको छ ।