धनकुटा / राष्ट्रिय स्वतन्त्र पार्टीले धनकुटामा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई समर्थन गरेको छ ।

छवि, एजेन्डा, विचारलगायतका कुरालाई आधार मान्दा भण्डारी समर्थन योग्य भएकाले पार्टीले समर्थन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश १ का सदस्य रोजन बरालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

धनकुटामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले कसैलाई पनि उम्मेदवार बनाएको छैन । उक्त क्षेत्रमा भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई सहयोग र समर्थन गर्न कै लागि आफूहरूले उम्मेदवारी नदिएको बरालले बताए ।

पुस्तैनी राजनीतिलाई आजीवन पेशा बनाएकाहरू, पटक पटक परिक्षण भइसकेकाहरूलाई असफलका बदलामा सक्षम र योग्यलाई राजनीतिमा अघि बढाउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ सकारात्मक रहेको बरालको भनाइ छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रहेका भण्डारीले गठबन्धनले उम्मेदवारी टुंग्याउनु एक महिना अघि नै पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनले उम्मेदवारी दिएपछि मात्रै माओवादी केन्द्रले कारबाही गरेको थियो ।

धनकुटामा प्रतिनिधि सभामा भण्डारी सहित नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमारबहादुर थापा, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका विश्वमित्र लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीका आरामकुमार लिम्बू र एकीकृत शक्ति नेपाल पार्टीका रमेश राईले उम्मेदवारी दिएका छन् । 

स्वतन्त्र उम्मेदवारी दिएका गंगाराम गोम्देनले भने भण्डारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।