अर्जुनधारा / नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशिला चापागाईंले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आबद्ध सबै दलका कार्यकर्ता इमान्दार भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गएका बेला नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित गठबन्धन दलका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि चापागाँईले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

यो निर्वाचन प्रतिगामी शक्ति र अग्रगामी शक्तिबीचको लडाईं भएको बताउँदै मतदान मार्फत प्रतिगामी शक्तिलाई परास्त गरेर जनआन्दोलनमार्फत प्राप्त ऐतिहासिक उपलब्धि रक्षा गर्न समेत चापागाइँले सबै जनतालाई आह्वान गरेकी छिन् । 

कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति उद्वव थापाले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई अत्यधिक मतले विजयी गराउन कार्यकर्तालाई आह्वान गरेका छन्।

झापा क्षेत्र नं –२ प्रदेशसभा २ गठबन्धन दलको चुनाव प्रचारप्रसार समितिको आयोजनामा झापाको अर्जुनधारामा आयोजित चुनाव लक्षित अन्तरक्रियालाई सम्बोधन गर्दै नेता थापाले देशलाई संवैधानिक सङ्कटबाट बचाउन गठबन्धन भएको बताएका छन् । यसको निरन्तरताले मात्रै संविधान र जनआन्दोलनका उपलब्धीहरू रक्षा गर्न सकिने उनको भनाइ छ । 

कार्यक्रममा झापा क्षेत्र नं –२ का प्रतिनिधिसभा उम्मेद्वार हरिकुमार रानाले अब ब्यवस्था परिवर्तनको आन्दोलन सकिएको र जनताका समृद्धिका लागि काम गर्ने समय आएको बताएका छन् । देश र जनताको समृद्धि गठबन्धन दलले मात्रै गर्न सक्ने हुँदा मतदानमार्फत गठबन्धन दललाई ठूलो शक्ति बनाउन उनले सबैलाई अपिल समेत गरेका छन् । 

त्यस्तै झापा क्षेत्र नं –२ प्रदेशसभा (२) का उम्मेद्वार खगेन्द्र मैनालीले संविधानको रक्षा, जनताको समृद्धि र समुन्नतिका लागि युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु अत्यावश्यक रहेको चर्चा गर्दै नेपाली कांग्रेसले जनताको सेवा, सुविधा र समृद्धिका लागि कांग्रेसले घोषणापत्रमार्फत आफ्ना एजेण्डाहरू जनतामाझ राखिसकेको बताए।