झापा / आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले आग्रह गरेको छ । 

माओवादी प्रदेश समितिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादी आर्थिक आधार तयार गर्न र समावेशी सिद्धान्तलाई अझ प्रभावकारी बनाउनका लागि आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचन भनेको जनताका लागि आफ्नो हकहित र अधिकार सुनिश्चित गर्दै उन्नत समाज व्यवस्था संस्थागत गर्ने एउटा महत्वपूर्ण प्रकिया भएका कारण कसैको बहकाउ, होहल्ला र माहौलको पछि नलागी सचेत भएर मतदान गर्न आममतदातामा अनुरोध समेत गरेको छ ।  

त्यस्तै माओवादी प्रदेश १ समितिले १३ बुँदे चुनावी प्रतिवद्धता पत्र पनि सार्वजनिक गरेको छ । जसमा संघीयताको कार्यान्वयन, कृषि, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, सडक, पुल र पूर्वाधार, खानेपानी, सिँचाइ र उर्जा, पर्यटन तथा संस्कृति, युवा खेलकुद र रोजगारी, वन तथा वातावरण, सार्वजनिक सेवा प्रवाह र सुशासन, सूचना प्रविधि र सामाजिक सुरक्षालाई माओवादीले प्राथमिकतामा राखेको छ । 

त्यसका लागि श्रम सहकारी मार्फत रोजगार अभिवृद्धिको कार्यक्रम, उत्पादनको आधारमा अनुदान दिने, कृषि उपजको गुणस्तरीय उत्पादनमा जोड दिई प्रशोधन र ब्रान्डिङको व्यवस्था गरी निर्यात प्रवर्द्धन गर्ने, ‘जनता आवास कार्यक्रम’ लाई निरन्तरता दिई सबैलाई आवास उपलब्ध गराउने, प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने, प्रदेशको गौरव आयोजनाको रुपमा रहेको मुन्धुम पदमार्ग निर्माण कार्य सम्पन्न गर्ने प्रदेशका मुख्य शहरहरूमा ट्राफिक लाइट जडान गर्ने जस्ता कार्यक्रम माओवादीले अघि सारेको छ । 

त्यस्तै माओवादीले आसन्न निर्वाचनमा विजयी भए हिमाली र पहाडी क्षेत्रको बसाइँसराई नियन्त्रण गन ती क्षेत्रका व्यवस्थित र आधुनिक सहरिकरणको योजना अघि बढाउने र एक घर एक रोजगारी कार्यक्रममार्फत प्रदेशवासीलाइ उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, कानुन तर्जुमा गरी घरेलु मदिरा ब्रान्डिङ गरेर आन्तरिक आम्दानी वृद्धि गर्दै स्वरोजगारी प्रवर्द्धन गर्ने समेत प्रतिवद्धता जनाएको छ । 

23456