धनगढी  / प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ ।

भागेश्वर गाउँपालिका –५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जानकारी दिए । 

‘प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

वडा कमिटीले ती माग सम्बोधनका सम्बन्धमा अब जिल्लास्तरका नेताहरूसँग नभएर सोझै प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्र कुरा गर्ने कुरासमेत उल्लेख गरिएको छ ।

डडेल्धुरामा प्रतिनिधि सभा तर्फ प्रधानमन्त्री स्वयं उम्मेदवार छन् भने प्रदेश सभा २ मा काङ्ग्रेसकै गोविन्द बोहरा र १ मा गठबन्धनबाट माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट उम्मेदवार छन् ।

nepali-congress