झापा  / यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपालि भने यमपञ्चक सुरु भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । 

कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो शनिबारबाट नै सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

यस वर्ष यमदीपदान शनिबारदेखि सुरु भए पनि काग तिहार आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । र मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । 

पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ। यसैगरी पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धन्वन्तरि त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ ।

धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।