झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विभिन्न क्षेत्रमा कार्यरत अब्बल महिला नेतृहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट चिकित्सक, उद्यमी, सामाजिक अभियन्ता, कुशल सञ्चारकर्मी लगायत १० जना महिला नेतृहरू देशका विभिन्न स्थानबाट चुनावी मैदानमा उतारेको हो । 

OM Sai Pathibhara Hospital

ललितपुर क्षेत्र नम्बर ३ बाट डाक्टर तोसिमा कार्की उम्मेदवार बनेकी छिन् । पाटन अस्पतालमा जनरल सर्जनका रुपमा कार्यरत कार्की चर्चित मेडिकल अभियन्ता समेत हुन् । उनले ‘स्वस्थ नेपाली, सुखी नेपाली’ बनाउने लक्ष्य लिएकी छिन् ।

रास्वपाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट माया गुरुङलाई उम्मेदवार बनाएको छ । पर्वतारोही, पर्यटन व्यवसायी, सामाजिक अभियन्ता र समाजसेवीको रुपमा परिचित उनले सिन्धुपाल्चोक जिल्लाबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिलाको रुपमा आफूलाइ उभ्याएकी छिन् ।

त्यस्तै धादिङ क्षेत्र नम्बर २ बाट चर्चित महिला उद्यमी बसुमाया तामाङ उम्मेदवार बनेकी छन् । उनी देशकै प्रतिष्ठित अचार व्यवसायी समेत हुन् । उनले सयौं महिलालाई आत्मनिर्भर बनाएकी छिन् । तामाङले उत्पादन गरेको अचार विश्वका धेरै देशमा निर्यात समेत हुने गरेको छ ।

त्यस्तै काठमाण्डु क्षेत्र नम्बर २ बाट चर्चित सञ्चारकर्मी सोविता गौतम चुनावी मैदानमा उत्रिएकी छन् । चर्चित अधिवक्ता तथा सञ्चारकर्मी समेत रहेकी उनी मतदातामाझ परिचित छिन् ।

रास्वपाले ओखलढुङ्गा क्षेत्र नम्बर १ बाट सोभा कार्की, सुनसरी क्षेत्र नम्बर १ बाट गोमा तामाङ (सरिन), चितवन ३ बाट सामाजिक अभियन्ता जिता बराल, सिन्धुली १ बाट इन्जिनियर तथा युवा अभियन्ता मेनुका ठकुरी, महोत्तरी १ बाट पर्यटन व्यवसायी तथा समाजसेवी खेमकुमारी भुर्तेल चुनावी मैदानमा छन् ।

त्यसैगरि बाग्लुङ २ बाट सामाजिक अभियन्ता तिला खत्री र रामेछाप १ बाट सामाजिक अभियन्ता समिक्षा श्रेष्ठ उम्मेदवार बनेका छन् ।